विराटनगर १४ वैशाख।
बिराटनगरमा कोशी प्रदेश नामाकरण खारेजको माग गर्दै आएका पहिचानवादी आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा प्रदेशसभा भवन अगाडिको क्षेत्रमा तनावग्रस्त भएको छ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन आज दिउँसो २बजे देखि सुरु भैसकेको छ भने दलका नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । प्रदेशसभाको बैठक बस्ने भएपछि आन्दोलनकारीले प्रदेशसभा भवन वरिपरि घेराउ गरेर ढुङ्गामुढा गरेका छन् भने आन्दोलनकारीतर्फ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी दुवै पक्ष घाइते भएका मोरङ प्रहरीले जनाएको छ।
दिउँसो १ बजेदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच देवकोटा चोकमा झडप भएको हो । झडपमा परी एक सशस्त्र प्रहरी जवानको टाउको फुटेको छ ।
प्रहरीले आज बिहानदेखि हालसम्म ३० भन्दा बढी आन्दोलनकारीका नेतालाई पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा बिहान ८ बजेनै पुगेका थिए । प्रदेशसभा भवन जान नपाए पछि आन्दोलनकारीले देवकोटा चोक छेउमा रहेको स्वास्थ्य मन्त्रालय तोडफोड गरेका छन्।
आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । आन्दोलनकारी हरुले निषेधित क्षेत्र पार गरेपछि झडप भएको हो ।