विराटनगर, १३ जेठ । 

 कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले संविधान र कानुन अनुसार उद्योगी व्यवसायीहरुले उठाएका धेरै मुद्दाहरु सम्बोधन गर्न नसकिएपनि पहलका लागि प्रयास गर्ने बताउनुभएको छ । 

विराटनगरमा आयोजना गरिएको उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम उद्घाटन गर्दै मुख्यमंत्री कार्कीले औद्योगिक ग्राम निर्माण, बैंक व्याज दर नियन्त्रण, लोडसेडिङ अन्त्य लगायतका समस्या समाधानमा सहयोग गर्ने वताउनुभयो । वहाँले उद्योगी व्यवसायीहरुको समस्या हल गर्न प्रदेश सरकारले पुलको रुपमा काम गर्ने समेत बताउनुभयो । 

कार्यक्रमका सहभागिहरुले आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले आफ्नो ढुकुटीमा रहेको पूँजी खर्च गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनिहरुले सरकारले उद्योगी व्यवसायीहरुको समस्या नसुनेकै कारण मुलुकको अर्थतन्त्र सुस्त बन्दै गएको गुनासो समेत गरेका थिए । 

सो कार्यक्रममा उद्योग संगठन मोरङमा निर्विरोध निर्वाचित अध्यक्ष राकेश सुराना सहित १४ जना सदस्य र ३ जना मनोनित सदस्यहरुको पदस्थापना गरिएको थियो ।