राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने अझै नसकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । 

नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश गराउने उक्त टनेलबाट कहिले गाडी कुदाउन पाइएला र सुरुङमार्गको मजा लिन कहिले पाइएला भन्ने आमनागरिकको चाहना छ । 

बहुप्रतिक्षित उक्त सुरुङमार्गको दुई टनेलमध्ये मुख्य टनेल छ सय मिटर सुरुङमार्गमा जोडिन बाँकी छ भने सहायक अर्थात् ‘रेस्क्यु’ ९इभ्याकुएसन० टनेल दुई सय १० मिटर जोडिन बाँकी छ । पहिलो चरणमा दुई सय मिटर ‘ब्रेक थ्रु’ गर्ने र मुख्य टनेल दसैँ आसपासमा ‘ब्रेक थ्रु’ गर्ने गरी काम अगाडि बढाइएको नागढुङ्गा सुरुङमार्ग आयोजनाका कन्सल्ट्यान्टका इञ्जिनियर रमेश कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्ने खोलाबाट सुरु भएको उक्त सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८० मिटर छ ।

“सिस्ने खोलाको प्रवेश विन्दुबाट ९१ मिटर माथि निस्किन्छ । टनेल सिधा नभएर थोरै कर्प ९घुमाएर० बनाइएको छ । यहाँ दुई वटा टनेल निर्माण भइरहेका छन् । एउटा गाडी सञ्चालनका लागि बनाइएको हो”, इञ्जिनियर कोइरालाले भन्नुभयो । उहाँका अनुसार टनेलभित्र कुनै घटना भयो भने रेस्क्यु गर्नका लागि ३० मिटरको दूरीमा रहने गरी साइडमा अर्को टनेल बनाइएको छ । “त्यो रेस्स्क्यु ९इभ्याकुएसन० टनेल हो । हरेक तीन सय ७५ मिटरमा दुई टनेल जोडिन्छ । उक्त टनेल दुर्घटना वा अन्य आकस्मिक कामका लागि प्रयोग गरिन्छ”, उहाँले भन्नुभयो । 

सात ठाउँँमा दुई टनेलको जडान गरिने इञ्जिनियर कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य टनेलको चौडाइ सामान्यतया साँढे नौ मिटर र कुनैकुनै ठाउँमा १३ मिटरसम्मको हुन्छ । रेस्क्यु ९इभयाकुएसन० टनेल साढे चार मिटरको रहने उहाँको भनाइ थियो ।

इञ्जिनियर कोइरालाले टनेलबाहेक यस ठाउँमा आउने रोड सर्भ स्टेशन ९मुख्य तल्लो प्रवेश विन्दु० मा चार लेनको सडक टनेलमा प्रवेश गर्ने बताउनुभयो । सिस्ने खोलाबाट प्रवेश गरेका यातायातका साधन माथि निस्किएपछि बलम्बुस्थित मुख्य मार्गमा नै मिसिने गरी सडक निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । “त्यसलाई ‘एप्रोच रोड’ भनिन्छ । यसको लम्बाइ साढे दुई  किलोमिटरको हुन्छ”, इञ्जिनियर कोइरालाले भन्नुभयो । टनेल निर्माणका क्रममा निस्किएका निर्माण सामग्री प्रयोग गरेर रोड बनाइरहेकाले टनेलसँगै रोडको काम पनि सँगै सम्पन्न हुने उहाँको भनाइ थियो ।

‘एप्रोच रोड’ र टनेल निर्माणका क्रममा आउने मुख्य समस्या तल्लो प्रवेशविन्दु नजिकको पहिरो भएको भन्दै इञ्जिनियर कोइरालाले पहिरो नियन्त्रणका लागि काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले सावधानीपूर्वक समन्वयात्मकरुपमा समस्या समाधान गरी काम अघि बढाइएको बताउनुभयो ।

आजमात्रै यहाँका अनुगमन गर्नुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी एक वर्षभित्रमा गाडी हिँड्ने गरी कामलाई तीव्रता दिनुपर्ने भन्दै निर्माणका क्रममा आउने सबै समस्या र अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताउनुभयो । उहाँले एक वर्षमा गाडी नै हिँड्ने गरी निर्माण भइरहेको बताए पनि सुरुङमार्ग निर्माण सम्पन्न हुन अझै डेढदेखि दुई वर्ष लाग्ने आयोजनाका अधिकारीहरुले बताएका छन् । 

यस्तो छ प्रगति 

निर्माण भइरहेका र निर्माण कम्पनीलाई भुक्तानी दिइएका कामको प्रगति हेर्दा हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले मुख्य टनेल खन्ने काम सकिएपछि धेरै काम सकिने बताइएको छ । टनेल खन्ने काम मात्रै चाहिँ ८३ प्रतिशत सकिएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ । 

“टनेल जोडिएपछि भने अन्य काम छिटो सकिन्छ । भित्र २४सै घण्टा लाइट र पावर चाहिन्छ । त्यसका लागि पनि काम गर्नुपर्छ । त्यसैले टनेल जोडिएपछि अन्य कामका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ”, आयोजनाका कन्सल्ट्यान्ट इञ्जिनियर रमेश कोइरालाले भन्नुभयो । कोरोनाका कारण एक वर्ष समय थप भइ आगामी अप्रिल २६ सम्मका लागि समय निर्धारण गरिएको छ । 

कहिलेदेखि सुरु भयो सुरुङमार्ग निर्माण

नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो । ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो । आयोजना निर्माणका लागि रू २२ अर्ब लाग्ने बताइएको छ । जम्मा खर्चमध्ये रू १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट गरिने छ भने बाँकी नेपाल सरकारको लगानी रहनेछ । सन् २०१९ मा निर्माण सुरु भई ४२ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । कोरोनाका कारण एक वर्ष थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको आयोजनाले जनाएको छ ।