सब डिभिजन वन कार्यलय बेलबारी अन्तर्गतका सामुदायिक वन उपभोक्ता समुहहरुले पत्रकार तथा नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार भएको कार्यक्रममा उपस्थित सब डिभिजन वन कार्यलय बेलबारीका कर्मचारी, ६ वटा वन उपभोक्ता समुहहरु र स्थानीय पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ६ वटै वनको अवलोकन भ्रमण गरिएको थियो । सो क्रममा सम्बन्धित वनका अध्यक्ष तथा प्रतिनिधिहरुले आ–आफ्नो वन क्षेत्रमा भएका गतिवधिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा चिसाङखोला किनार वन संरक्षण कार्यक्रम अन्तर्गत चिसाङ खोला किनारमा बाढीले बगाएको स्थानमा सडक बिभागले बाँध लगाइदिएको र उक्त स्थानको १ दशमलव ७८ हेक्टर क्षेत्रफलमा  तारबेरा गरेर बाँस लगायतका बिरुवा लगाएको सब डिभिजन वन कार्यलय बेलबारीका सहायक वन अधिकृत दिपेश कुमार मिश्रले जानकारी दिनुभयो ।

सिंहदेवी सामुदायिक वनका अध्यक्ष समर बहादुर तामाङले वनमा पहिलेदेखिनै खालि रहेको जमिनमा तारघेरा गरेर २ हेक्टर क्षेत्रफलमा बृक्षरोपण गर्ने कार्य धमाधम भइरहेको जानकारी दिनुभयो ।

लक्ष्मी सामुदायिक वनका अध्यक्ष सुजय गौतमले लोप हुन लागेको सादन जातको संरक्षणमा वनले कार्य गरिरहेको साथै १० हेक्टर क्षेत्रफलमा बृक्षरोपणको कार्य धमाधम भइरहेको जानकारी दिनुभयो ।

देविथान सामुदायिक वनका अध्यक्ष मोहन पौडेलले जैविक वाल उद्यान लगायत दाहसंसकार स्थानको व्यवस्थापन लगायतको कार्य भएको जानकारी दिनुभयो ।

वेतना सिमसार सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेतले पछिल्लो समय जनावरहरु बस्ने नयाँ खोर निर्माण, सिमसार संरक्षण गर्नका निम्ति पोखरीमा रहेको जलकुम्भि निकाल्ने लगायतका कार्य भएको जानकारी दिनुभयो ।

बेलबारी चिसाङ सामुदायिक वनका अध्यक्ष लिला प्रसाद आचार्यले वनको नजिकै मानव बस्ति रहेकोले प्राकृतिक रुपमा वनको संरक्षणका निम्ति कार्य भइरहेको जानकारी दिनुभयो ।

नक्सल सामुदायिक बनका अध्यक्ष चन्द्रकला मगरले १ हेक्टर क्षेत्रफलमा बृक्षरोपणको कार्यका लागि तयारी भइरहेको साथै फोहोर व्यबस्थापनको काम सम्पन्न भएको जानकारी दिनुभयो ।