खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीको धाप्लाङघाटस्थित निर्माणाधीन पुलको काम रोकेर अहिले ढाँचा (डिजाइन) परिवर्तनको प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल चार वर्षअघि बनिसक्नुपथ्र्यो । विसं २०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको हो । वेल फाउन्डेसन प्रविधिको मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण गर्ने गरी ढाँचा परिवर्तको प्रक्रिया अघि बढाइएको हो । विसं २०७६ असारमा बनिसक्नुपर्ने दुई सय मिटर लामो मोटरेबल पक्की पुलको ठेक्का लागेको सात वर्षपछि ठेकेदार कम्पनीको आग्रहमा ढाँचा परिवर्तन गर्न लागिएको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो । “ठेकेदार कम्पनीले पुरानो डिजाइनमा काम गर्न नसक्ने बताएको छ, तोकिएको समयमा निर्माणको काम नभएपछि सम्झौता गर्दा दिइएको पेस्की बापतको रकमबाट रु चार करोड २२ लाखसमेत फिर्ता गराइएको छ”, उहाँले भन्नुभयो, “जसरी भए पनि पुल त बनाउनै प¥यो, पुरानो डिजाइनका चार वेल फाउन्डेसनको ठाउँमा चार पाइल फाउन्डेसन बनाउने तयारीस्वरुप डिजाइन परिवर्तनको काम सुरु गरिएको छ ।” खोटाङको बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयवासीलाई पूर्वी तराईका विभिन्न सहरसँग जोड्ने पुल विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको थियो । धाप्लाङघाट निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल बनिसक्नुपर्ने समयमा ढाँचा परिवर्तनको प्रक्रिया थाल्नुमा ठेकेदार र कर्मचारीको मिलेमतो रहेको स्थानीयवासीले आरोप लगाएका छन् । निर्माणको काम थालेको लामो समयसम्म धाप्लाङघाट पुल निर्माणको काम सम्पन्न नहुँदा दक्षिणी क्षेत्रका स्थानीय बासिन्दालाई सबैभन्दा बढी समस्या भएको बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । “सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल नहुँदा आयात तथा निर्यात गरिने दैनिक उपभोग्य सामग्री पुल वारि र पारि दुवैतर्फ लोडअनलोड गर्नुपर्ने अवस्था छ, यसले सबैभन्दा बढी कृषक मारमा परेका छन्”, उहाँले भन्नुभयो, “दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाको दैनिक जीवनसँग जोडिएको धाप्लाङघाटको पक्की पुल निर्माणमा ढिलाइ हुनु दुःखद विषय हो, यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”