विराटनगर १ जेठ
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोइरालालाई विदाई गरिएको छ ।
सरुवा भएर जान लागेका कोइरालालाई विराटनगर महानगरपालिकाले सोमबार एक कार्यक्रमका विच विदाई गरेको हो ।
कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीले खादा र अविर लगाएर विदाई गरेका हुन । मेयर कोइरालाले कर्मचारीहरुको सरुवा नियमित प्रक्रिया भए पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णुप्रसाद कोइरालाले विराटनगरमा छुट्टै छाप छाडेर गएको बताए । उनले महानगरको कर्मचारी संयन्त्रलाई कोइरालाले चलायमान बनाउनुका साथै छोटो समयमा निकै महत्वपूर्ण काम गरेको स्मरण समेत गरे । उपमेयर कार्कीले पनि प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई महानगरपालिकाले सधैं सम्झिरहने बताइन ।
उनले वर्षौंदेखि हुन नसकेका कामहरु पछिल्लो ८ महिनामा भएको उल्लेख गरिन । प्रमुख कोइरालाले आफ्ना लागि विराटनगर घर भएको ले विराटनगरलाई कहिल्यै बिर्सन नसक्ने बताए । उनलाई कार्यपालिका सदस्य र कर्मचारीहरुले खादा र अविर लगाएर विदाई गरेका थिए । कोइराला कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । कोइराला ८ महिनाअघि विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका थिए ।
यसैबीच, प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका राजेन्द्र पराजुलीलाई आजै महानगरपालिकाले स्वागत गरेको छ ।