विराटनगर, ३० बैशाख ।  युवा तथा खेलकुद मंत्री डिग बहादुर लिम्बुले कोशी प्रदेशको नामाकरणको विवादमा हिंसात्मक आन्दोलन गरे मुठभेडको अवस्था आउने र मुलुक नै संकटमा पर्न सक्ने धारणा व्यक्त गर्नुभएको छ । 

  विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै खेलकुद मंत्री डिग बहादुर लिम्बुलेसंविधान र कानुन अनुसार प्रदेशको नामाकरण राखिसकिएकोले पहिचानवादीहरुले शान्तिपूर्ण आन्दोलन गरेर आफ्नो माग पूरा गराउन वार्ता र छलफल गर्नुपर्ने बताउनु भयो । 

एक प्रश्नको जवाफमा खेलकुद मंत्री लिम्बुले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धन, तीन तहको सरकार बीच अधिकार बाँडफाँड तथा खेलकुदका कर्मचारीहरुलाई व्यवस्थापन गर्नका लागि खेलकुद ऐनमा संसोधन गरिने बताउनु भयो । उहाँले लामो समय सम्म खेलकुदका कर्मचारीहरु एउटै ठाँउमा बस्ने गरेकोले खेलकुदको विकास हुन नसकेको र संघीय, प्रदेश र स्थानीय सरकारको खेलकुद क्षेत्रको अधिकारलाई सम्बोधन गर्न खेलकुद ऐन संसोधन गर्नुपर्ने बताउनु भयो । 

फरक प्रसंगमा खेलकुद मंत्री लिम्बुले विराटनगर स्थित बैजनाथपुर खेल मैदानको नाम परिवर्तन गरी गिरिजा प्रसाद कोइराला खेल मैदान राखेर प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।