विराटनगर, २४ बैशाख ।  पत्रकारीता दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले ४ जना पत्रकारहरुलाई नगद सहित पुरस्कृत गरेको छ ।

आइतवार आन्तरिक मामिला तथा कानुन मंत्रालयले विराटनगरमा आयोजना गरेको पत्रकारिता दिवस तथा पत्रकार पुरस्कार एवम् सम्मान कार्यक्रममा मुख्यमंत्री हिक्मत कुमार कार्कीले सम्मानित पत्रकारहरुलाई एक एक लाख रुपैयाको चेक सहित सम्मानपत्रले सम्मान गरेका हुन ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री कार्कीले एउटै समाचार फरक फरक संचार माध्यममा फरक फरक आउदा दर्शक र पाठक अन्यौलमा पर्ने र विश्वसनियता गुम्ने भएकाले यस तर्फ सचेत र सजग हुन संचारकर्मीहरुलाई आग्रह गरे । उनले पत्रकारिता क्षेत्रले आफ्नो विश्वसनियता आफै कायम गर्नुपर्ने बताए । 

मुख्यमंत्री कार्कीले आगामी वर्ष प्रदेश संचार प्रतिष्ठान सम्बन्धी कानुन ल्याएर पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाइने जानकारी समेत दिए ।

 कोशी प्रदेश सरकारले प्रत्येक वर्ष बैशाख २४ गतेका दिन पत्रकारहरुलाई नगद सहित सम्मानित गर्ने गर्दै आए अनुसार नै मुख्यमंत्री कार्कीले यस बर्ष इलामका सोमनाथ सुसेली र सटेन्द्र जबेगु, झापाकी अम्बिका भण्डारी र सुनसरीका राजेश विद्रोहीलाई प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका हुन ।