विराटनगर, २४ बैशाख ।नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा सबै दोषीहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
आइतवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष माधव कुमार नेपालले जतिसुकै दबाब आएपनि पूर्वाग्रह राखेर निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने कार्य गर्न नहुने बताए।
फरक प्रसंगमा अध्यक्ष नेपालले प्रदेश १ को नामाकरण कोशी प्रदेशमा सहमति भईसकेको र साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । उनले कोशी नामाकरण कुनै धर्म र संस्कृति संग नजोडिएको र प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्ने बताए । नेता नेपालले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका लागि सरकारले सहयोग गर्नुपर्ने तथा कुनै पनि जाति समुदायले अपहेलित र उपेक्षित भएको महसुस हुने गरी काम गर्न नहुने धारणा व्यक्त गरे ।
संचारकर्मीको प्रश्नको जवाफमा अध्यक्ष नेपालले माओवादीमा दम्भ आएको आफुले महसुस गरेको र यसलाई सच्याउने कुरा भएको जानकारी दिए ।