विराटनगर, २१ बैशाख ।
 मोरङ खण्ड राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको हुलाकी सडकको निर्माणको कार्य एक सातामा शुरु नगरिए जनप्रतिनिधिहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विहिवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विगत एक महिना देखि ठेकेदारले कामै बन्द गरेकाले तत्काल काम सुचारु गरी आउदो वर्षा अघि बाटो आवतजावत योग्य नबनाए स्थानीयलाई सडकमा ओराल्ने संघिय सांसद ऋषिकेश पोखरेलले बताएका छन् ।
दुई जना संघिय सांसद, ६ जना प्रदेश सांसदहरु तथा हुलाकी सडक संग जोडिएका ३ वटा नगरपालिकाका मेयर र २ वटा गाँउपालिकाका अध्यक्षहरुले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी हुलाकी सडक निर्माणमा सरकारले चासो नदिएको गुनासो गर्दै स्थानियहरुको पिडालाई बुझेर तुरुन्त निर्माण कार्य थालनि गर्न आग्रह् समेत गरेका छन् ।

हुलाकी राजमार्गको मोरङ खण्डको करिब १८ किलोमीटर सडक अत्यन्त जीर्ण अवस्थामा पुगेको छ । रंगेली पश्चिमको सडकमा पानी पर्ना साथ हिड्नै नसक्ने अवस्था आएकोले सरकारलाई तत्काल काम सुचारु गराउन आग्रह समेत गरिएको छ । 
 हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले भने सम्बन्धित ठेकेदारले काम नगरेकाले ठेक्का तोड्ने तयारी गरेको जनाएको छ ।
 संघिय सांसदहरु ऋषिकेश पोखरेल, योगेन्द्र मण्डल, प्रदेश सांसदहरु गणेश उप्रेती सुशिल, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याल तथा रतुवामाई नगरपालिका मेयर नागेश्वर प्रसाद सिंह, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल, कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरी र धनपालथान गाँउपालिका अध्यक्ष जिवछ गच्छेदारले संयुक्त विज्ञप्ति निकालेर दवाव मुलक कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

IMG20230504082109