पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय गरिएको छ । कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको अदालतका इजलाश अधिकृत कुमार सुवेदीले बताउनुभयो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई बहुविवाहको कसुरमा एक वर्ष र बालविवाहको कसुरमा तीन महिना कैद सजाय गरेको हो । यसैगरी आरोपितलाई बहुविवाहमा रु १० हजार र बालविवाहमा रु तीन हजार जरिवाना समेत भएको छ । यसका साथै आरोपितबाट फौजदारी कसूर पीडित राहत कोषमा रु चार सय जमा गर्नुपर्ने फैसला भएको छ । जेठी श्रीमती २१ वर्षीया मेनुकाकुमारी चौधरीले आरोपित श्रीमान्ले १५ वर्षीया बालिकालाई गत मङ्सिर १ गते विवाह गरी घरमा भित्र्याएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको थियो । प्रहरीले पुस २५ गते आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतले यही माघ १७ गते बालिकालाई सफाइ र धामीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । बहुविवाहसँग जोडिएको यो बालविवाहको घटनाबाहेक आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालतमा अन्य दुई बालविवाहका उजुरी दर्ता भएका छन् । बालविवाहको एउटा उजुरी परमादेशबाट दर्ता भएको छ भने अर्को सशस्त्र प्रहरीले भारत जाँदै गरेको नवविवािहत जोडीलाई नियन्त्रणमा लिएपछि प्रहरी प्रतिवेदनमा चलेको बालविवाहको मुद्दा रहेको छ । महादेवा गाउँपालिका–१ की बालिकालाई विवाह गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा बालिका र अन्य तीन जना भारतीय नागरिक यही माघ १७ गते पक्राउ परेका थिए । पक्राउपर्नेमा भारतको जम्मु काश्मिर घर भएका मो रफिक खार, नुर जहान र गुलाब जिलानी रहेको प्रहरीले जनाएको छ । खार र जहानले ४१ वर्षीय जिलानीलाई नेपाल ल्याएर १७ वर्षीया बालिकासँग विवाह गराइ भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाको टोलीले पक्राउ गरेको थियो । सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएपछि अनुसन्धानका क्रममा बालविवाह गरेको खुल्न आएकाले उनीहरुलाई बालविवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । ठूलो सङ्ख्यामा बालविवाह हुने सप्तरीमा २०७५ देखि २०७८ सालसम्म प्रत्येक वर्ष एक÷एक उजुरी मात्र दर्ता र फछ्र्यौट भएको छ । अदालतको तथ्याङ्कअनुसार आव २०७८÷७९ मा तीन उजुरी दर्ता भएकामा हाल दुई बालविवाहका मुद्दा चालु अवस्थामा छन् । कमजोर आर्थिक अवस्था, अशिक्षा र बालविवाहले पार्ने समस्याका बारेमा जानकारी नहुनाले ग्रामीण क्षेत्रका बालबालिका उमेरै नपुगी वैवाहिक जीवनमा जोडिने गरेको अधिकारकर्मीका भनाइ छ । मेची महाकाली बुहारी संयुक्त आवाजकी सदस्य मिरा गुरुङका अनुसार विभिन्न तथ्याङ्क र व्यवहारमा सबैभन्दा बढी घटना हुने बालविवाहको मुद्दा भने सबैभन्दा कम दर्ता हुने गरेको छ । –––RSS