बेलबारी, १५ माघ । बेलबारीमा प्रहरी अस्पताल संचालन हुने भएकाे छ । नेपाल प्रहरी अस्पतालका निर्देशक एआइजी डा. आशा सिंहसहितकाे प्रहरी अस्पतालकाे टिमले आज बेलबारी नगरपालिकासँगकाे भेटमा यस्ताे बताइएकाे हाे । प्रहरी अस्पताल निर्देशक ए.आइजी डा. आशा सिंहले सातवटै अस्पतालमा प्रादेशिक अस्पतालकाे अवधारणमा काम भइरहेकाे जानकारी गराउदै यस क्षेत्रमा प्रहरी तथा भूतपूर्व प्रहरीकाे सङ्ख्या ठुलाे रहेकाेले प्रहरी अस्पताल संचालन गर्न लागिएकाे बताइन् ।
भविष्यमा ५० वेडकाे अस्पतालर ट्रमा सेन्टरकाे सुविधा सम्पन्न अस्पताल बनाउने याेजना रहेकाे पनि निर्देशक सिंहले बताइन् । प्रहरी कल्याण महाशाखाका एसएसपी केदार ढकालले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने बताए । उक्त टिमले अस्पताल संचालन हुने स्थान इलाका प्रहरी कार्यालयकाे पुरानाे भवनकाे निरीक्षणसमेत गरेकाे थियाे ।
भेटमा नगरप्रमुख दिल प्रसाद राईले बेलबारीलाई प्राथमिकतामा राखेकाेमा प्रहरी अस्पतालकाे टिमलाई विशेष आभार व्यक्त गरे । संचालन हुने अस्पतालमा तत्कालका लागि भने ल्याप, एक्सरे तथा इमर्जेन्सी सेवा संचालन गरिने बताइएकाे छ । प्रहरी अस्पतालमा १५ जना जति जनशक्ति रहने बताइएकाे छ । उक्त छलफलमा बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा काेइराला, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, लेखा प्रमुख धनमाया राई, बेलबारी नगरपालिकाका १,२,३, ९ र ११ नं वडाका अध्यक्षहरूकाे उपस्थिति रहेकाे थियाे ।