बिराटनगर, २०७९ माघ १५ गते ।

झापा र मोरङका तिन  छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र डाईलक्स डि.सी. सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट स्थानीय ३० बर्षीय प्रलाद कार्कीलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । यसैगरी झापाकै दमक नगरपालिका-१ को कुमाल चोकमा रहेको एक होटलमा लागुऔषध ब्राउनसुगरको बिक्रीबितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चुलाचुली गाउँपालिका-४ का ३२ बर्षीय बिर बहादुर लिम्बु, दमक-३ की २४ बर्षीया प्रेम कुमारी तामाङ, १९ बर्षीया दिक्षा योगी र फाकफोकथुम गाउँपालिका-३ घर भई दमक-९ मा बस्ने ३३ बर्षीय बिदुर पौडेल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ९ ग्राम लागुऔषध ब्राउसुगर र ४ थान मोवायल बरामद गरेको छ । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ बाट धरान-१५ का ४२ बर्षीय मणी राई र तुवाचुङ गाउँपालिका-७ खोटाङका ४७ बर्षीय सुचिन राईलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित शनिवार साँझ पक्राउ गरेको हो ।  लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।