मोरङको सुन्दरहरैंचा स्थित दुईजना बालिकालाई फकाएर बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङलाई बलात्कार आरोपमा पक्राउपरेका हुन ।
उनीहरुले सुन्दरहरैंचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजका लगेर अलगअलग कोठा भाडामा लिई बालिकालाई बलात्कार गरेको खुलेको छ ।
दुवै बालिकाको उमेर १५ भन्दामुनी छ । कक्षा ८ र ९ मा अध्ययनरत उनीहरु गत पुस १ गते शुक्रबार घर नर्फिकएपछि शनिबार घटना बाहिरिएको थियो । बालिकाहरु सुन्दरहरैंचा नगरपालिकाकै हुन् । उनीहरु विद्यालय गएका थिए । पुस १ गते विद्यालय नपुगेका उनीहरु सुन्दरहरैंचाकै गौशालामा भलिबल हेर्न भन्दै पुगेको र त्यहि बखत तिम्सिना र तामाङले फकाएर होटल पुयाएको आरोप छ । रातभर होटलमा बसेका उनीहरु शनिबार मात्रै घर फर्किएका थिए ।
पीडित बालिकाका अभिभावक शनिबार थाहा पाएपछि आइतबार दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरिएको थियो । घटनामा तिम्सिना र तामाङलाई सहयोग गर्ने सुन्दरहरैंचा–५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैंचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु घटना गराउने मतियार रहेको पाइएको छ ।
प्रहरीले पक्राउ परेका विरुद्ध मोरङ जिल्ला अदालतबाट सोमबार म्याद थप गर्ने तयारी गरेको छ । घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीले गरिरहेको छ । त्यस बाहेक कोसी अस्पताल विराटनगमरामा बालिकाहरुको स्वास्थ्य परीक्षण गराईने भएको छ ।