काठमाडौं, ३ मंसिर।मंसिर ४मा हुने निर्वाचनमा खटिएका दुई कर्मचारीको ज्यान गएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका नम्बर ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु रायको ज्यान गएको छ । उनी शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी सुनीलजंग शाहले जानकारी दिए ।
धनकुटामा पनि मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको ज्यान गएको छ ।
साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी पवित्रा याख्खा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनको शुक्रबार अपराह्न मृत्यु भएको हो ।
मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भएर लडेकी थिइन् ।
उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरी जनाएको छ ।