भारत । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मावलम्बीको हत्यापछि सिर्जित धार्मिक तनावका कारण उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ । उदयपुर जिल्लामा दुई मुस्लिम पुरुषले कन्हैया लाल दर्जीको हत्यापछि त्यसको भिडिओ बनाएर अनलाइन पोस्ट गरेका थिए ।
मुस्लिम धर्मगुरु पैगम्बर मुहम्मदको बारेमा गरेको विवादास्पद टिप्पणीलाई लिएर हत्या भएको विषय बाहिरिएको थियो । त्योसँगै भारतको राजस्थानमा पछिल्लो केही दिनदेखि हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका छन् ।
यसपछि भारत सरकारले उक्त क्षेत्रमा मोबाइल इन्टरनेट बन्द गर्ने निर्णय लिएको छ । २४ घण्टाका लागि भन्दै सरकारले इन्टरनेट सेवा बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको हो । निर्देशन अनुसार मोबाइल इन्टरनेट (टुजी, थ्रिजी र फोरजी) मात्रै बन्द हुनेछ । फिक्स्ड ब्रोडब्याण्डमा भने कुनै असर पर्नेछैन ।
सरकारले भारतको टेलिग्राफ ऐन १८८५ को प्रावधानमा टेकेर यो निर्णय गरेको जनाइएको छ । उक्त, ऐनको दफा २ को १ ले राष्ट्रिय आपत्तिको समयमा अस्थायी रुपमा इन्टरनेट बन्द गराउनसक्ने व्यवस्था गरेको जनाइएको छ ।
यही व्यवस्थालाई टेकेर सरकारले बुधबारदेखि लागू हुनेगरी यो निर्देशन दिएको थियो ।