मोरङको बेलबारीमा ३९ वर्षमाथिका खेलाडी सहभागी हुने वडास्तरीय नगर भेटेरान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बोराबाँध भेटेरानको आयोजनामा बेलबारी नगरपालिका–६ स्थित स्कुल डाँडा, बोराबाँधको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। कार्तिक १४ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल कार्तिक २१ गते हुनेछ। प्रतियोगिताका खेलहरू प्रत्येक दिन दिउँसो ३ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।

सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा बेलबारी नगरपालिका वडा नम्बर १० र वडा नम्बर ४ बीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी कार्तिक १५ गते वडा नम्बर ६ र ८, कार्तिक १६ गते वडा नम्बर २ र ११ तथा कार्तिक १७ गते वडा नम्बर ९ र ५ बीच खेल हुनेछ।

प्रतियोगितामा ३९ वर्षमाथिका अर्थात् वि.सं. २०४४ सालसम्म जन्मिएका खेलाडीले सहभागिता जनाउन पाउनेछन्। खेलाडीले सम्बन्धित वडाको नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिता नौ खेलाडी सम्मिलित टोलीबीच सञ्चालन हुनेछ। प्रत्येक खेल ३५–३५ मिनेटको हुनेछ भने टोलीमा थप छ जना वैकल्पिक खेलाडी राख्न पाइनेछ। निर्धारित समयमा खेल बराबरी भएमा पेनाल्टी सुटआउटमार्फत नतिजा निकालिने आयोजकले जनाएको छ।

खेलसम्बन्धी कुनै दाबी वा विरोध भए खेल सुरु हुनुअघि नै गर्नुपर्नेछ। खेलका क्रममा उत्पन्न हुने विवादमा रेफ्री तथा आयोजक समितिको निर्णय अन्तिम हुने व्यवस्था गरिएको छ।WhatsApp Image 2026-10-28 at 5.09.42 PM