चोरीको आरोप लगाएको रिसमा विराटनगरका ६९ वर्षीय व्यापारी लालजीप्रसाद गुप्तालाई घरमै बोलाएर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्यापछि शव लुकाउन दुई नाबालकको प्रयोग गरिएको घटनामा प्रहरीले मुख्य अभियुक्तसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गर्दै हत्याको आरोपमा विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा १३ र १६ वर्षका दुई नाबालकलाई पक्राउ गरिएको जानकारी दिएको हो।
आलम विराटनगरको महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका थिए भने पक्राउ परेका नाबालकमध्ये एक भारतीय र अर्का नेपाली नागरिक हुन्।
प्रहरीका अनुसार विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार चोरी गरेको भन्दै गुप्ताले आलममाथि आरोप लगाएका थिए।
आफूलाई चोरको आरोप लगाएर बजारमा बदनाम गरेको रिसमा आलमले कात्तिक ६ गते शुक्रबार गुप्तालाई घरमा बोलाएका थिए।
त्यसक्रममा दुई जनाबीच विवाद भएपछि आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहारबाट गुप्ताको मृत्यु भएपछि शव कार्पेटमा बेरेर सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा लगेर फालिएको थियो।
कात्तिक ८ गते आइतबार बिहान स्थानीयले खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
भारतको वाराणसी स्थायी घर भएका गुप्ता करिब चार दशकदेखि विराटनगरमा बस्दै आएका थिए। उनले धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए।
शव फेला परेपछि मोरङ र सुनसरी प्रहरीको संयुक्त टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानकै क्रममा मंगलबार साँझ मुख्य अभियुक्त आलम पक्राउ परेका हुन्।
प्रहरीले हत्यामा प्रयोग भएको भनिएको जीआई पाइप, मृतकको रेडमी मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ।
सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार बरामद सामग्री तथा अन्य प्राविधिक र भौतिक प्रमाणका आधारमा घटनाको थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।












