पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्र्याइएको छ।

नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार ८७७ वटा सिलिण्डर काठमाडौँ ल्याइएको हो।

यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ।

यही भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए। त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्र्याउने व्यवस्था गरेको हो। निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिइएको छ।