मैथिली साहित्य क्षेत्रका थप एक दिग्गजको स्वर्गवास भएको छ। मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको हो।
उनको शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको हो।
डा. लालले मैथिली साहित्यमा लामो समयदेखि योगदान पुयाउँदै आएका थिए। साहित्यका विभिन्न विधामा कलम चलाएका डा. लालले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रा वृत्तान्त तथा लोक साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।
उनको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती वन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो। उनका चर्चित मैथिली कृतिहरूमा ‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’, ‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ रहेका छन्।
त्यस्तै, ‘धनुषाधाम और मणिमण्डप’ उनको पर्यटनसम्बन्धी कृति हो। उनी मैथिली त्रैमासिक पत्रिका ‘नैमिकानन’ का सम्पादकसमेत रहेका थिए। उनका विभिन्न रचनाहरू विद्यालय तथा महाविद्यालयका पाठ्यक्रममा समेत समावेश भएका छन्।
साहित्य क्षेत्रमा र्पुयाएको योगदानको कदरस्वरूप उनले वैदेही प्रतिभा पुरस्कार, त्रिमूर्ति पुरस्कार, मिथिला रत्न, ज्योतिरीश्वर साहित्य सम्मान तथा नेपाल सरकारको प्रादेशिक प्रतिभा पुरस्कारलगायतका सम्मान प्राप्त गरेका थिए।
डा. लालको निधनसँगै मैथिली साहित्यले एक अनुभवी र समर्पित स्रष्टा गुमाएको छ।
साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय डा. लाल विविधा मैथिली मञ्चका संस्थापक सचिव, मैथिली साहित्य परिषद्का सदस्य तथा मैथिली साहित्यकार सभाका सल्लाहकारका रूपमा आबद्ध थिए।












