त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस कार्यक्रममा सहभागी हुन पुगेका शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध नाराबाजी गर्ने ५ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शिक्षामन्त्री सहभागी हुन लागेको कार्यक्रम स्थलबाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विश्वविद्यालयको वार्षिक दिवस समारोहमा भाग लिन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गरी युवाहरूले नाराबाजी र प्रदर्शन गरेका हुन्। उनीहरुले मेरिटोक्रेसी लागू गर्न, कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेको प्लेकार्ड बोकेका थिए।

प्रदर्शनका क्रममा प्रहरीसँग सामान्य धकेलाधकेल समेत भएको थियो। सोही क्रममा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको हो।