रास्वपाका सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद खनालले हुम्ला र बाजुरा जिल्लाको रानीसैन सीमा क्षेत्रको विवाद तत्काल समाधान गर्दै नागरिकको जीवन सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका हुन्।

उनले बाजुराको हिमाली गाउँपालिका साइपालको पूर्वी बेस क्याम्प हुनुका साथै जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले तस्करहरूले वर्षौँदेखि जडीबुटी र वन्यजन्तुको कर छलेर अवैध चोरी तस्करी गर्दै आएको खबर प्राप्त भएको उल्लेख गरे।

त्यस क्षेत्रमा प्रहरी चौकी राख्दा तस्करहरुलाई समस्या हुने भएकाले उनीहरुले चौकी राख्न पहल गर्ने वडा सदस्यसहितलाई कुटपिट गरेको हुनसक्ने उनले बताए। उनले स्थानीय तहको प्रवर्द्धन र पर्यटकीय प्रवद्र्धन काममा लाग्दा जनप्रतिनिधिहरुमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।