झापाको हल्दिबारी गाउँपालिका–५ मा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। गत जेठ ५ गते राति घरायसी वादविवादका क्रममा ४४ वर्षीय गोकर्ण भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेका हुन्।

विवाद बढ्दै जाँदा गोकर्णले उर्मिलाको टाउकोमा बाम्फोक प्रहार गरेको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेकी उर्मिलाको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न गोकर्णलाई तत्कालै नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनामा प्रयोग गरिएको हतियार बाम्फोकसमेत घटनास्थलबाटै बरामद गरेको छ। पक्राउ परेको गोकर्णलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान अघि बढाइएको छ।