नेपाली कांग्रेसका सांसद् निश्कल राईले गुरुकुल र विश्वविद्यालय ठानिएको सदन प्रधानमन्त्रीले बंक गरिरहेको भन्दै आलोचना गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको सून्य समयमा बोल्दै सांसद राईले सदनको गरिमा प्रधानमन्त्रीले नबुझेको टिप्पणी गरे।

‘सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने, मन लागे जाने। सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ भन्ने सत्तापक्षका सांसदको भनाइ सापट लिँदै भन्छु प्रधानमन्त्रीले यो गुरुकूल विश्वविद्यालय बंक गर्न थाल्नुभएको छ,’ उनले भने।

नीति तथा कार्यक्रम मुलुक निर्माणको दस्तावेज र रोडम्याप हो भन्ने भनाइ बुधबारको बैठकमा सभामुखले राखेको स्मरण गर्दै उनले त्यस्तो गम्भीर विषयमा छलफल र जवाफका लागि प्रधानमन्त्री नआउनु र प्रश्नबाट भाग्नु लोकतन्त्रका लागि शुभसंकेत नभएको टिप्पणी गरे।