प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमै सुरु भएको छ। संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बिहीबार छलफल सुरु भएको हो।
नीति तथा कार्यक्रम बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टेबल गरेका थिए। तर विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री सहभागी हुनुपर्ने र जवाफ पनि दिनुपर्ने माग गरेका थिए। सोही मागका कारण बुधबारको बैठक अघि बढ्न सकेको थिएन।
सभामुख डोलप्रसाद अर्यालले बुधबार बेलुका प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका थिए। तर, बिहीबार पनि प्रधानमन्त्री प्रतिनिधि सभा बैठकमा उपस्थित नभएपछि उनको अनुपस्थितिमै छलफल सुरु भएको हो। नीति तथा कार्यक्रममा विपक्षीहरूले ३५ वटा संशोधन प्रस्ताव हालेका छन्।
नीति तथा कार्यक्रममाथिको छलफल आजै सकेर जवाफ दिने कार्यक्रम रहेको छ। नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुनुअघि बिहीबारको बैठकमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने माग दोहोर्याएका थिए।
कांग्रेसका मिस्कल राई, एमालेका ऐन महर, राप्रपाका खुस्बु ओली र नेकपा युवराज दुलालले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको भन्दै सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ ? भनेर प्रश्न गरेका थिए।




















