सर्लाहीको मलंगवा नगरपालिका–१० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ।

बुधबार करिब ४ः४५ बजे मलंगवा–१० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा उनीहरूको खसेका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी करिब ४० वर्षीय राज किशोर यादव गम्भीर घाइते भएका थिए। काम गरिरहेको क्रममा छतसहित जमिनमा खस्दा दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको थियो।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भएपनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।