नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सरकारले कुन शासनप्रणाली अवलम्बन गरिरहेको छ? भनेर प्रश्न गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले नियमावलीभन्दा पनि प्रधानमन्त्रीले कस्तो नियत राखेका छन् भन्ने महत्त्वपूर्ण रहेको बताए।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारको नीति तथा कार्यक्रममाथिका प्रश्नको जवाफ दिन संसद् बैठकमा नआएपछि उनले कटाक्ष गरेका हुन्। “अहिलेको सरकारले कुनचाहिँ शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भएको शासनप्रणालीलाई अवलम्बन गरेको हो कि अरू कुनै तन्त्र विकास गरिरहेको हो ?,” उनले प्रश्न गरे।

उनले लोकतन्त्र कि ‘बालेनतन्त्र’ विकास गर्न खोजेको भन्ने प्रश्न उठाए। “बजारमा एउटा कुरा छ, प्रधानमन्त्री बालेन शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेनतन्त्र पो विकास गर्न खोज्नुभएको हो कि भन्ने आमप्रश्न र जिज्ञासा छ,” उनले भने। 

महरले प्रधानमन्त्रीले पटक–पटक सदनको हुर्मत लिएको जिकिर गरे। उनले प्रधानमन्त्री सदनप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिए।