संघीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित एक समारोहबीच उनले शपथ लिएका हुन्। उनलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले शपथग्रहण गराए।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए। संखुवासभाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिवबाट सेवानिवृत्त कर्मचारी हुन्।

सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए। संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान छ।