सुन्दरहरैंचामा श्री कृष्ण प्रणामी संरक्षण सेवा समिति अन्तर्गत सञ्चालित श्री कृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रमले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा “श्री कृष्ण प्रणामी धर्म जागरण स्वर्ण महोत्सव–२०८३” आयोजना गर्ने भएको छ।
स्वर्ण महोत्सव संयोजक रामप्रसाद गजुरेलका अनुसार महोत्सवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भव्य रूपमा मनाउने तयारी गरिएको छ। कार्यक्रममा करिब ५ हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ भने १०८ ब्रह्मकुमारीद्वारा पारायण, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछन्।
कार्यक्रमका लागि करिब २ करोड १३ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। साथै, भविष्यमा आश्रममार्फत अनाथ तथा असहाय बालबालिकाका लागि आवासीय गुरुकुल सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ।
WhatsApp Image 2026-04-12 at 2.15.46 PM (1)श्री कृष्ण प्रणामी धर्म जागरण स्वर्ण महोत्सव–२०८३
श्री कृष्ण प्रणामी संरक्षण सेवा समिति अन्तर्गत सञ्चालित कृष्ण प्रणामी मन्दिर सलकपुर  सेवा आश्रमले आफ्नो स्थापना कालदेखि निरन्तर सामाजिक तथा धार्मिक सेवा गर्दै आएको छ। विसं २०२८ सालबाट सुरु भएको यस संस्थाले ५० वर्षको गौरवपूर्ण यात्रा पूरा गरेको अवसरमा “श्री कृष्ण प्रणामी धर्म जागरण स्वर्ण महोत्सव–२०८३” आयोजना गर्न लागेको संयोजक रामप्रसाद गजुरेलले जानकारी दिएका छन्।
संयोजक रामप्रसाद गजुरेलले  संस्थाले पाँच दशकको अवधिमा मानव समाजमा सेवा भावले विभिन्न महत्त्वपूर्ण कार्यहरू गर्दै आएको बताए। “५० वर्ष कुनै पनि संस्था वा व्यक्तिका लागि गर्वको विषय हो, यस अवधिमा गरेका कार्यहरूको समीक्षा गर्दै आगामी दिनका लागि अझ प्रभावकारी योजना बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो,” संयोजक  गजुरेलले बताए छन्।
महोत्सवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भव्य रूपमा मनाउने तयारी गरिएको छ। नेपालस्थित केन्द्रीय संस्था कृष्ण प्रणामी सेवा समितिको अनुमति लिएर कार्यक्रमलाई विस्तारित गरिएको हो। भारतका विभिन्न प्रदेशहरू—सिक्किम, गुजरात, उत्तर प्रदेश लगायतबाट समेत श्रद्धालु तथा प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ भने नेपालका मेचीदेखि महाकालीसम्म प्रचारप्रसार तीव्र बनाइएको आयोजकले जनाएको छ।
कार्यक्रम सञ्चालनका लागि मन्दिर परिसरमा करिब एक बिघा पाँच कठ्ठा क्षेत्रफलमा पण्डाल, भोजन तथा आवास व्यवस्थापन गरिनेछ। महोत्सव अवधिभर करिब ५ हजार भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ। सहभागीहरूका लागि भोजन, आवास, शौचालय लगायतका सम्पूर्ण आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ।
WhatsApp Image 2026-04-12 at 2.15.45 PMमहोत्सवमा १०८ ब्रह्मकुमारीद्वारा पारायण, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिनेछन्। कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, नगर प्रमुख लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
आयोजनाको अनुमानित लागत करिब २ करोड १३ लाख रुपैयाँ रहेको छ। खर्च व्यवस्थापनका लागि भक्तजन तथा सहयोगीहरूबाट सहयोग सङ्कलन भइरहेको र केही रकम सङ्कलन भइसकेको संयोजक गजुरेलले बताए।
संस्थाले भविष्यमा सेवा आश्रमलाई अझ व्यवस्थित बनाउँदै अनाथ तथा असहाय बालबालिकाका लागि आवासीय गुरुकुल सञ्चालन गर्ने योजना समेत अघि सारेको छ। आधुनिक तथा व्यवहारिक शिक्षासँगै नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
संयोजक गजुरेलले महोत्सव सफल बनाउन सम्पूर्ण श्रद्धालु, सहयोगी तथा सञ्चारकर्मीहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गर्नुभएको छ।