केही समय अगाडिसम्म सरकारी कार्यालय, खासगरी मालपोत भन्नासाथ सर्वसाधारणको मानसपटलमा एउटा चित्र नाच्थ्यो– ‘घण्टौँसम्म लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र कर्मचारीको रूखो व्यवहार झेल्नुपर्ने।’ तर, मोरङको बेलबारीस्थित मालपोत कार्यालयले अहिले यो भाष्यलाई पुरै बदलिदिएको छ। सधैँ भिडभाड र ढिलासुस्तीको पर्याय बनेको यो कार्यालय अहिले कुनै चुस्त निजी कम्पनीजस्तो देखिएको छ।
बेलबारी–२ का भवानी रिजाल केही दिनअघि जग्गाको कित्ताकाटमा भएको त्रुटि सच्याउन मालपोत कार्यालय पुगेका थिए। यसअघि यस्तो कामका लागि उनले बाहिरका लेखापढी व्यवसायीसँग परामर्श गर्दा उनीहरूले १० हजार रुपैयाँ माग गरेका थिए। सामान्य प्राविधिक त्रुटि सच्याउन पनि ठुलो रकम खर्चनुपर्ने बाध्यतामा रहेका रिजाल यसपटक भने सुखद आश्चर्यमा परे।सङ्घीय सरकारले कार्यालयभित्र बिचौलिया र लेखापढी व्यवसायीलाई छिर्न नदिन परिपत्र गरेपछि यहाँको वातावरण फेरिएको थियो। लेखापढी व्यवसायीहरूले विरोध गर्दै काम नगरेपछि उनी घर फर्केका थिए। सोमबार उनी फेरी पुगे। सरकारले बिहान ९ बजेदेखि ५ बजे सम्म कार्यालय खोलेपछि उनी सिधै कर्मचारीलाई लगेर कागजात दिए । सबै कागजात कर्मचारीले नै भरिदिए। तर काम सकिएन। उनी मङ्गलवार बिहान ९ बजे तिर नै आफ्नो कागजात भएको कार्यकक्षमा पुगे। त्यहाँ उनी पुग्ने बित्तिकै हिजो अधुरो भएको काम होइन भनेर कर्मचारीले सरासर गरिदिए।

‘पहिला कर्मचारीहरू बाहिरबाटै फारम भराएर ल्याउनुस् भन्थे, तर यसपालि त उनीहरू आफैँले मेरा सबै कागजात तयार पारिदिए,’ रिजालले दङ्ग पर्दै भने, ‘मेरो एक पैसा पनि खर्च भएन र काम पनि सोचेभन्दा धेरै छिटो भयो। सरकारी कार्यालयमा यसरी विना झन्झट काम होला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ।’
बेलबारी–११ का विनय मिश्र पनि मालपोतको फेरिएको रूप देखेर चकित छन् । बेलबारीकै एक सहकारी संस्थामा कार्यरत उनी पेसागत कामका सिलसिलामा सरकारी कार्यालय धाइरहन्छन्। जग्गा रोक्का र फुकुवाको काम लिएर आएका मिश्रले मालपोत कार्यालय अहिले कुनै कर्पोरेट हाउस वा निजी कम्पनी जस्तो भएको अनुभव सुनाए।
‘पहिले कर्मचारीहरू सरकारी ढर्रामा काम गर्थे, अहिले त आफ्नै निजी कम्पनीमा काम गरे जस्तो जोस र जाँगर देखाउँछन्,’ मिश्रले भने, ‘आज त मेरो काम मात्र १५ मिनेटमा सकियो। यो त हाम्रा लागि ठुलो उपलब्धि हो।’
यस्तै अनुभव सुन्दरहरैँचा–१० खोर्सानेका रुद्रबहादुर कार्कीको पनि छ। सोमबार जग्गा रोक्काको काम सकेका उनी आइतबार बिहान १० नबज्दै घर कायम गर्ने अर्को काम लिएर पुगेका थिए । कार्यालय खुल्ने बित्तिकै कर्मचारीहरू आफ्नो कार्यकक्षमा हाजिर भई सेवा सुरु गरिसकेका थिए। उनले भने, ‘लेखापढी व्यवसायी नहुँदा पनि कर्मचारीको सहयोगले काम निकै सहज भयो।’
सरकारले हालै मात्र सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। मङ्गलवार बिहान ९ बज्न नपाउँदै सबै कर्मचारीहरू आफ्नो कार्यकक्षमा पुगिसकेका थिए।

विगतलाई सम्झँदै एक स्थानीय सेवाग्राही भन्छन्,‘पहिला कर्मचारीहरू ११ बजेतिर मात्रै कार्यालय आइपुग्थे। हाजिर गरेर पनि कार्यकक्षमा पुग्न एक घण्टा लगाउँथे। मोबाइलमा झुम्मिने, सेयर बजार (नेप्से) हेर्ने वा गफगाफमा भुल्ने कर्मचारीहरू अहिले भने बदलिएका छन्।’
केही सेवाग्राहीहरू कर्मचारीहरूले ‘चुपचाप घण्टी छाप’ भन्दै काम गरिरहेको र यसले सेवा प्रवाहमा निकै सुधार ल्याएको टिप्पणी गर्छन्।
नेपाली समाजमा एउटा उखान निकै चर्चित छ– ‘सरकारी काम कहिले जान्छ घाम’। अर्थात् सरकारी काम यति ढिलो हुन्छ कि दिन बितेको पत्तै हुँदैन। तर, बेलबारी मालपोतको सेवा लिएपछि खोर्सानेकै ओमकुमार श्रेष्ठ यो उखान अब इतिहास बन्ने बताउँछन्। ‘अब सरकारी काम पनि छिटो हुन्छ भन्ने विश्वास पलाएको छ। यदि सबै कार्यालय यसरी नै चल्ने हो भने नागरिकले सास्ती पाउनु पर्दैनथ्यो,’ उनले भने।




















