विराटनगरमा राजा महेन्द्रको शालिक स्थपना गरीने भएको छ। ऐतिहासिक पहिचान र सम्पदा संरक्षण गर्ने भन्दै सनातन युवा मञ्च नेपालले बनाउने घोषणा गरेको हो।
मञ्चले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगरस्थित महेन्द्र चोकमा शालिक राख्ने जनाएको हो। त्यस्तै, हिमालय रोडलाई पुरानै स्वरूपमा फर्काउने अभियानलाई तीव्रता दिने घोषणा गरेको हो।
बिगत आठ वर्षदेखि सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय रहँदै आएको यस संस्थाले इतिहासलाई जीवन्त राख्नका लागि राजा महेन्द्रको शालिकसहितको संरचनालाई पुनः स्थापित गर्नुपर्ने माग राखेको छ। गौरवपूर्ण इतिहास मेटिन नहुने र भावी पुस्ताका लागि पनि सम्पदाको संरक्षण अनिवार्य रहेको मञ्चले जनाएको छ।
मञ्चका अध्यक्ष नवराज ढकालद्वारा जारी विज्ञप्तिमा यो अभियान कुनै राजनीतिक स्वार्थ नभई विशुद्ध सामाजिक र ऐतिहासिक पहिचानको रक्षाका लागि चालिएको बताए। यस कार्यलाई पूर्णता दिन सम्पूर्ण विराटनगरबासी, सामाजिक संघ–संस्था, नागरिक अभियन्ता र सरोकारवालाहरूलाई सामूहिक अपिल समेत गरे। शालिक निर्माणका लागि आर्थिक सहयोग संकलनको काम शुरू भइरहेको उनले बताए। निर्माणका लागि करिब १० लाख लाग्ने अनुमान गरिएको छ। दोस्रो जनआन्दोलनको क्रममा महेन्द्र चोकमा रहेको शालिक भत्काइएको थियो। अहिले फेरि शालिक बनाउने काममा सक्रिय भएका हुन्।




















