रौतहटको सदरमुकाम गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने र ठगी गर्ने कार्यमा संलग्न चार जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जग्गा पास, बिक्री वा अन्य प्रशासनिक कामका लागि कार्यालय आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भन्दै प्रलोभनमा पारी रकम असुल्ने गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको विशेष टोलीले उनीहरूलाई कार्यालय परिसर र आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
मालपोत कार्यालय वरपर लामो समयदेखि सक्रिय बिचौलियाहरूले सर्वसाधारणलाई अनावश्यक झन्झट दिने र ठग्ने गरेको व्यापक गुनासो आएपछि प्रहरी सक्रिय बनेको हो। पक्राउ परेका व्यक्तिहरूलाई हाल जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
मालपोत कार्यालय क्षेत्रमा सक्रिय अन्य बिचौलियाहरूमा भने हडकम्प मच्चिएको छ। स्थानीय बासिन्दाहरूले प्रहरीको यस कार्यको स्वागत गर्दै यसबाट सीधा र सोझा सेवाग्राहीलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्। साथै, पक्राउ परेकाहरूमाथि कडा कानुनी कारबाही गर्न र यस्तो अभियानलाई निरन्तरता दिन स्थानीयले माग समेत गरेका छन्।




















