रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले न्यायको हतारो आफ्ना सन्तान गुमाएका बालबालिकाहरूलाई हुने बताए।

उनले न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको भएको दाबी गरे। उनले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

उनले भने, ‘न्यायको हतारो त घरमा आफ्नो कलिला बालबालिका गुमाएका आमाहरूलाई छ होला नि। त्यो जति हतारो अरू कसैलाई पनि छैन। न्यायको हक सबैलाई छ, तर शहीदको आमाको आँसु पुछ्ने काम सबैभन्दा पहिला हुनुपर्छ। हामी पब्लिक अडिटमा छौँ। हाम्रा हरेक क्रियाकलाप, अभिव्यक्ति, राजनीतिक अभ्यास र निर्णयहरू आम नागरिक सामु छन्।’

उनले रास्वपाले गर्ने हरेक निर्णय पारदर्शी हुनुपर्ने र नागरिकको अपेक्षाअनुसार नै पार्टी अगाडि बढ्ने प्रतिबद्धता जनाए।