विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो भीषण आगलागी हुँदा ११ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। अचानक सुरु भएको आगोले केही बेरमै सिंगो बस्तीलाई खरानी बनाएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार दिउँसो करिब २ बजेतिर सल्किएको आगो फुसको छाना र टाटीबेराले बनेका घरहरू भएका कारण तीव्र गतिमा फैलिएको थियो। आगलागी भइरहेका बेला घरभित्र रहेका ग्यासका सिलिन्डरहरू समेत विस्फोट भएका थिए। सिलिन्डर विस्फोट हुन थालेपछि आगो झन् भयावह बनेको र नियन्त्रणमा लिन थप चुनौती थपिएको प्रहरीले जनाएको छ।
आगलागीको खबर पाउनासाथ विराटनगर महानगरपालिकाका दुईवटा र इटहरी उपमहानगरपालिकाको एउटा दमकल घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी, दमकल र स्थानीय बासिन्दाको सामूहिक प्रयासमा मात्र आगो नियन्त्रणमा ल्याउन सम्भव भएको थियो।
आगोले घरसँगै भित्र रहेका लत्ताकपडा, अन्नपात र दैनिक प्रयोगका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएका छन्। अचानकको यो विपत्तिले मुसहर बस्तीका ११ परिवारको बिचल्ली भएको छ। प्रहरीले हाल आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएको छ।


















