राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन्। “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा भए पनि व्यवहारमा ठीक विपरीत शैली भएको भन्दै उनले रास्वपाको साधारण सदस्यमा समेत नरहने गरी उनले विज्ञप्तिमार्फत राजीनामा दिएकी हुन्।
उनले विज्ञप्तिमा भनेकी छिन्, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत भएको अनुभव गरेको छु।’
उनले रास्वपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको, पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन्। उनले मुख्यगरी रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णय भएकोले आफू यी सबै क्रियाकलापको साक्षी बसेर अब मौन रहिरहन नसकेको बताएकी छिन्।
‘मूलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णय प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेको छ। यी सबै क्रियाकलापको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु’ उनले भनेकी छिन्।
ममताले रास्वपालाई मधेशमा एकढिक्का बनाएर आठ जिल्लामा चिनाएकी थिइन्। तर पार्टीका पार्टी प्रवक्ता मनिष झा र अमेश सिंहको मिलेमतोमा रविले पैसामा टिक अर्कैलाई टिकट बाँडेपछि उनी असन्तुष्ट भएकी थिइन्। साथै संस्थापक सभापति शर्माले टिकट नपाएपछि पार्टीभित्र आन्तरिक विवाद सतहमा देखिएको थियो।




















