मोरङको बेलबारी नगरपालिका-१० स्थित भाउन्ने चोक नजिकै पुर्व-पश्चिम राजमार्ग किनारमा बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छन्।
मकै पोलेरै जीविका चलाउँदै आएकी उनका अनुसार रु २५ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि प्रतिघोगा रु ५० मा बिक्री भइरहेको छ। उनीसँगै मकै पोल्ने कानेपोखरी–५ की दुर्गामाया तामाङ भन्छिन्, “व्यापारको टुंगो हुँदैन, तर औसतमा दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुन्छ। पछिल्ला केही वर्षयता भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै आएको छ।”
बेलबारी–१० भाउन्नेका रमेश कुँवरले पनि सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आएका छन्। घरमै होटल व्यवसाय सञ्चालन गरेका कुवरले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेको बताए। कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांश सार्वजनिक यातायातले यहाँ रोकेका बेला यात्रीले पोलेको मकै किनेर खाने र निजी सवारीमा यात्रा गर्नेले पनि पोलेको मकै खानकै लागि आउने गरेका छन्। केही वर्षयता यस स्थानमा पोलेको मकै रुचाउनेको भीड नै लाग्ने गरेको छ। राजमार्गमा यात्रा गर्नेहरूका लागि खाजा खाने नयाँ गन्तव्यका रूपमा यो ठाउँ विकास भइरहेको छ।
भाउन्ने चोक पूर्व चिसाङ खोला छेउसम्ममा २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेसा गर्दै आएका छन्। पछिल्लो समय बेलबारीमा व्यावसायिक मकै खेतीप्रति किसानको आकर्षण बढ्दो छ। मकैले उचित मूल्य पाएपछि बाह्रै महिना हरिया मकै उत्पादनमा किसानले जोड दिन थालेका छन्।




















