सुनसरीको धरानमा प्रहरीले ९ सय ५५ केजी गाँजासहित दुई जना व्यक्ति र दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
धरान उपमहानगरपालिका २० विष्णुपादुकास्थित बरडाँडाबाट प्रहरीले दुई वटा सवारीसाधनसहित उक्त परिमाणको गाँजा मंगलबार बिहान बरामद गरेको हो।
पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका ८ का २८ वर्षीय सन्दीपकुमार माझी र काठमाडौंको चन्द्रागिरी नगरपालिका ८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठ रहेको धरान प्रहरीले जनाएको छ।
माझी चालक रहेको बा प्र ०१ ०२७ च ११४३ नम्बरको गाडीबाट ४ सय ६० केजी गाजा बरामद भएको छ। यस्तै, श्रेष्ठ सवार बी एसी ३२३६ नम्बरको गाडीबाट ४ सय ९५ केजी गाजा बरामद भएको हो।
चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेका सवारीसाधन शंकास्पद लागेर जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्ति र सवारी साधन इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।




















