आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो।
नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो। नेपाली टोली आइतबार प्रस्थान गर्नेछ।
बिदाइ कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि शुभकामना दिए। ‘यो समग्र विश्वले पनि हेर्ने कुरा हो, हामी राम्रो गरिरहेका छौं। विश्वकपका लागि खेलाडीदेखि व्यवस्थापन टिम सबैलाई शुभकामना छ’, खड्काले भने, ‘भारतमा गएर समर्थकहरूले पनि साथ दिनुहुन्छ भन्ने आशा छ।’
कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए। ‘तयारी राम्रो भइरहेको छ। अभ्यासले पनि राम्रो बिल्डअप भएको जस्तो लाग्छ’, रोहितले भने, ‘सन् २०२५ एकदम राम्रो भएको थियो। आशा छ यो वर्ष पनि राम्रो हुनेछ। हामी समग्र नेपालीलाई प्राउड फिल गराउने छौं।’




















