बेलबारी। मोरङको बेलबारीमा जारी 'दोस्रो बेलबारी महोत्सव' को तेस्रो दिन आज चर्चित गायिका एलिना चौहानले आफ्नो सांगीतिक प्रस्तुति दिने भएकी छिन्।
बेलबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा गत पुस २५ गतेदेखि सुरु भएको महोत्सवको आजको मुख्य आकर्षणका रूपमा गायिका चौहान रहने आयोजकले जनाएको छ। उनले आफ्ना लोकप्रिय गीतहरूमार्फत बेलबारीवासीलाई मनोरञ्जन प्रदान गर्नेछिन्।
स्थानीय व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा विभिन्न व्यावसायिक स्टलहरूका साथै दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ। आज साँझ ६ बजे देखि महोत्सव स्थलमा पस्न आयोजकले अनुरोध गरेको छ।
महोत्सव अवधिभर उल्लेख्य सङ्ख्यामा दर्शकहरूको उपस्थिति रहने र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास आयोजक बेलबारी उद्योग वाणिज्य सङ्घले लिएको छ।




















