नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत प्रतिनिधिले नाम दर्ता गराइरहेका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिले आइतबार (पुस २७) बिहानदेखि नाम दर्ता गराउन थालेका हुन्।
नाम दर्ताका निम्ति परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिएर आउन भनिएको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो।
यस दिन दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन गरिने तय छ। उद्घाटनसत्रका निम्ति भृकुटीमण्डपको खुला चौरमा ५० अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ। मञ्चको अगाडि खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका निम्ति गठित मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए। मञ्च वरिपरि कांग्रेसको झन्डा, गेट, ब्यानर र प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ।
कांग्रेस संस्थापन भने विशेष महाधिवेशनको विपक्षमा छ।




















