काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटना मृत्यु हुनेको संख्या पाँच पुगेको छ। २३ जना घाइतेको अहिलेसम्म उपचार भइराखेको छ भने पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। मृतक पाँच जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
दुर्घटनामा कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर भएर गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु र काठमाडौं जोरपाटी बस्ने ६० वर्षको अर्जुन लामिछानेको मृत्यु भएको हो।
बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो।



















