आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो।

निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ। 

काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ।

साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छन्। माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। छनौट भएका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्ने छ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ। चालिस दिनमा उनीहरुले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन्। त्यसबाहेक उनीहरूलाई रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै, निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन्। पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ। फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिएको छ।