विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्य गर्न पीडित परिवार र स्थानीय प्रशासनबीच चार बुँदे सहमति भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार पीडित पक्षसँग भएको वार्तामा घटनाको छानबिन गर्ने र पीडित परिवारलाई राहत तथा रोजगारीमा सहयोग गर्ने सहमति जुटेको हो।

सहमति अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ। मृतक साह घरको एक्लो कमाउने व्यक्ति भएकाले उनको परिवारको आर्थिक अवस्थालाई ध्यानमा राख्दै उनकी श्रीमतीलाई उपयुक्त रोजगारीका लागि प्रशासनले पहल गरिदिने सहमति भएको छ।

त्यस्तै, मृतकका छोराले भविष्यमा सशस्त्र प्रहरी बलमा भर्ना हुने इच्छा राखेमा र उनको योग्यता पुगेको खण्डमा कानुन बमोजिम आवश्यक सहजीकरण गरिदिने आश्वासन समेत प्रशासनले दिएको छ। यी सहमतिसँगै पीडित परिवारले शवको पोस्टमार्टम गर्न र प्रहरीलाई शव हस्तान्तरण गर्न मञ्जुर भएको प्रजिअ घिमिरेले बताए। 

गत बुधबार राति करिब १ बजे भारतबाट सामान ल्याउँदै गर्दा सशस्त्र प्रहरीले चलाएको गोली लागेर साहको मृत्यु भएको थियो। सशस्त्र प्रहरीले तस्करको समूहसँगको झडपमा गोली चलेको दाबी गरे पनि स्थानीयले भने निहत्था व्यक्तिमाथि गोली प्रहार गरिएको भन्दै उग्र विरोध प्रदर्शन गरेका थिए। आक्रोशित भिडले लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) मा चारैतिरबाट घेरा हाली ढुंगामुढा र आक्रमण गरेपछि स्थिति निकै तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रण बाहिर जान लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका थिए। स्थानीय प्रशासनले संयमता अपनाउन र वार्तामा आउन गरेको आग्रहपछि भएको यो सहमतिले लौकही क्षेत्रको तनाव कम हुने अपेक्षा गरिएको छ। प्रमुख जिल्ला अधिकारी घिमिरेले वार्ता सफल भएकाले अब आन्दोलन मत्थर हुने बताए। आन्दोलन भने रोकिएको छैन।