कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाका कारण कोशी प्रदेशमा कृषि बालीमा २ अर्ब बढीको क्षति पुगेको छ।
कोशी प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार यस क्षेत्रमा १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको हो।
निर्देशनालयका अनुसार ५८ हजार २६७ दशमलव २६ मेट्रिक टन धान र तरकारी बाली नष्ट भएको छ। यसमध्ये २ हजार मेट्रिकटन तरकारी बालीमा क्षति पुगेको छ। तरकारीको मूल्य ४ करोड रुपैयाँ बराबर छ भने धानको मूल्य २ अर्ब १ करोडभन्दा बढी देखिएको छ। जम्मा क्षति भने २ अर्ब ५ करोड ५४ लाख ३६ हजार ७ सय ९० रुपैयाँ रहेको निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिइन्।
तथ्याङ्कअनुसार झापा, मोरङ र सुनसरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ। झापामा ४ हजार ३६४ हेक्टरमा लगाएको धान बालीमा क्षति पुगेको छ, जसबाट २१ हजार ८२० मेट्रिक टन धानमा नोक्सान हुँदा अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ नोक्सान भएको छ।
त्यसैगरी, मोरङमा ३ हजार ४२१ हेक्टरमा १६ हजार ४२० दशमलव ८ मेट्रिक टन धानमा क्षति भएको छ, जसको मूल्य ५८ करोड ७८ लाख ६४ हजार रुपैयाँ अनुमान गरिएको छ। सुनसरीमा २ हजार ८५१ हेक्टरमा १२ हजार ६५८ दशमलव ४४ मेट्रिक टन धानमा क्षति पुगेको छ, जसको मूल्य ४५ करोड ३१ लाख ७२ हजार रुपैयाँ छ।
सुनसरीमै २ सय हेक्टरमा लगाएको तरकारी बालीमा पनि क्षति पुगेको छ, जसको मूल्य ४ करोड रुपैयाँ बराबर छ। पहाडी जिल्लामध्ये उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २ सय हेक्टर, ओखलढुंगामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र संखुवासभामा १२५ हेक्टर क्षेत्रफलमा लगाएको धान बालीमा क्षति पुगेको छ। यी सबै धान बालीमा बीमा नभएको निर्देशनालयले जनाएको छ।
        
    
यस्तै, तराईका जिल्लामा २० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५–३० प्रतिशत क्षति भएको हो। पहाडी जिल्लामा ८–१० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत क्षति पुगेको निर्देशनालयको तथ्याङ्क छ। तराई र पहाडको तुलनामा हिमाली जिल्लामा कम क्षति भएको छ। हिमाली जिल्लामा ५–६ प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत क्षति भएको तथ्याङ्क छ।
        
        
                    
        
        
        
                                        
                                                                                                


        
        
        
        
















