जनकपुरधामका व्यवसायीहरूले आज बजार बन्द गरेर विरोधमा उत्रिएका छन्। धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा धनुषा प्रहरीले छापा मार्ने क्रममा भएको विवादमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउको फुटेको थियो।
सोको विरोधमा जनकपुरधामका व्यवसायीहरूले बजार बन्द गरी विरोध र्याली निकालेका छन्। कालो पट्टी बाँधेर कालो झण्डा बोकी जनकपुर बजारमा विरोध र्याली निकालेका छन्।
उनीहरूले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैरकानुनी तरिकाले व्यापारीलाई लुट्न पाइँदैन, धनुषाका डिएसपी मुर्दावाद लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन्।
कुनै पनि पसल वा सङ्घ संस्थामा छापा मार्नु अघि निश्चित प्रक्रिया पूरा गर्नुपर्नेमा हावादारी हिसाबले प्रहरीले छापा मारेको आरोप जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष जितेन्द्र महासेठले लगाए।
प्रहरीले कानुनी बाटो प्रयोग गर्नुको साटो बल प्रयोग गरेर अध्यक्ष भण्डारीलाई हातपात गरेको प्रति महासेठले आक्रोश व्यक्त गरेका छन्। उनले डिएसपीलगायतको टोलीलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।
                            
        
        
                    
        
        
        
                                        
                                                                                                


        
        
        
        
















