जेनजी आन्दोलनका क्रममा भाद्र २३ र २४ गते भएका तोडफोड, आगजनी र झडपका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान अघि बढाएसँगै प्रहरी प्रधान कार्यालयले सो बेला फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।
प्रधान कार्यालयले कार्तिक १६ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पठाएको पत्रमा हालका लागि सम्बन्धित इन्चार्जहरुलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनिएको छ।
जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले परिपत्र गरेको हो।
आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इन्चार्जहरूलाई कुनै पनि बेला उपस्थित गराउन सक्ने भन्दै हेडक्वार्टरले पत्र पठाएको थियो।
        
        
                    
        
        
        
                                        
                                                                                                


        
        
        
        
















