उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरूबाट कार्तिक १६ गते प्रतिबन्धित लागूऔषधसहित ७ जनालाई पक्राउ गरिएको छ।
उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका-७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी-६ का विवेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका-९ का बल बहादुर विकलाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका-८ कोठु दोभानस्थित सप्तकोसी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो।
यसैगरी, झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका-१० का झलकनाथ अर्यालको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधी १ सय १९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका-८ का इन्द्र बहादुर परियारलाई ट्रामाडोल २५ क्याप्सुल र नियन्त्रित लागूऔषध ४५ ट्याब्लेट सहित पक्राउ गरेको हो।
यसका साथै लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले मोरङको सुन्दरहरैचा-४ का रोमन राई र केराबारी-१० का पूर्ण तामाङलाई १२ ग्राम ८१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-१६ स्थितबाट नियन्त्रणमा लिएको छ।
                            
        
        
                    
        
        
        
                                        
                                                                                                


        
        
        
        
















