सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन्।
घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो। खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो।
बालक खेलेको ठाउँ नजिकै गोमन सर्प फेला परेपछि सर्पले डसेको शंका गरिएको थियो। शुक्रबार साँझ नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लैजाने क्रममा ती बालकको बाटोमा नै मृत्यु भएको थियो।




















