झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट लागू औषध ब्राउन सुगरसहित २ जनालाई र नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कार्तिक ७ गते साँझ इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ का २१ वर्षीय अशोल राजवंशी र २२ वर्षीय रिचार्ड श्रेष्ठको साथबाट २ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको थियो।
यसैगरी, मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा कार्तिक ७ गते दिउँसो १ बजे को २१ प २८३३ नम्बरको मोटरसाइकलमा जेब्रा झोला भित्र ३० वटा प्याकेटमा प्याक गरेर ल्याउँदै गरेको १५ हजार नियन्त्रित ट्याब्लेटसहित मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका-१ का ३५ वर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिएको हो।
उनको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।




















