राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई कठोर सर्तसहितको सुझाव दिएका छन्।

संसद् पुनःस्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउन बुधबार सिंहदरबारमा बोलाइएको प्रमुख राजनीतिक दलहरूको बैठकमा शाहीले जेनजीका माग पहिले पूरा हुनुपर्ने अडान राखेका हुन्।

उनले देशमा गहिरिँदै गएको राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएको बताउँदै ‘जेनजीका माग’ पूरा गर्ने सुनिश्चितता भएपछि मात्रै संसद् पुनःस्थापनाको मुद्दा अघि बढाउन सभामुखलाई आग्रह गरे।

सभामुख घिमिरेले ११ राजनीतिक दललाई बोलाएर संसद पुनःस्थापनाको आवश्यकता र प्रक्रियाबारे छलफल गरेका हुन्। मंगलबार मात्रै संसद् पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा १० वटा रिट परेलगत्तै सभामुखले छलफल थालेका हुन्।

बैठकमा राप्रपाका तर्फबाट सहभागी प्रवक्ता शाहीले संसद्लाई निरन्तरता दिने वा पुनःस्थापना गर्ने भन्दा देशलाई सही दिशातर्फ लैजान आधारभूत सुधार आवश्यक रहेको बताए।